कोरोना सङ्क्रमण बढे पनि बुस्टर डोज लगाउने बढेनन्
काठमाडौँ, २९ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो बुस्टर डोज (अत्तिरिक्त मात्रा) खोप लगाउन आग्रह गर्दै आएको छ । यद्यपि बुस्टर डोज खोप लगाउन उत्साहजनक सहभागिता छैन । विगत एक साताको आँकडालाई केलाउँदा दैनिक ३० हजारभन्दा कम नै खोप लगाइएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले दोस्रो मात्रा बुस्टर डोज खोप लगाउन लक्षित समूहलाई आग्रह गरे । उक्त खोप स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई दिइने उनले बताए ।
नजिकैको स्वास्थ्य संस्थाबाट खोपको जानकारी लिई आवश्यकता अनुसार पहिलो, दोस्रो वा बुस्टर मात्रा खोप लगाउन उनको आग्रह छ । सरकारसँग भएको बाइभ्यालेन्ट खोप नियमित खोपको रूपमा प्रयोग गरिएको छैन । बुस्टर डोज बाइभ्यालेन्ट खोप पहिलो र दोस्रो बुस्टरका लागि प्रयोग भइरहेको छ ।
पहिलो मात्रा अर्थात् पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ । यस्तै, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज खोप लगाउन सरकारले आग्रह गरेको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि बुस्टर डोज लगाउनेको दर भने उत्साहजनक रुपमा बढेको छैन । विगत १५ दिनको अवधिमा ४ लाख ५१ हजार १८५ जनाले बुस्टर डोज लगाएका छन् ।

