रास्वपाले बोलाएको संयुक्त बैठक स्थगित

काठमाडौँ, ३ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको बैठक स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितलाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको ढकालले बताए। ‘निर्वाचन आयोगले यो समयमा पार्टीको बैठक नराख्नू भनेर विज्ञप्ति जारी गरेको रहेछ,’ ढकालले नेपालखबरसँग भने, ‘हामीले औपचारिक रुपमा बोलाइएको संयुक्त बैठक स्थगित गरेका छौं।’

उपराष्ट्रपति निर्वाचनको मौन अवधि मंगलबार रातिदेखि नै सुरु भएको जानकारी गराउँदै अयाोगले राजनीतिक दलहरूलाई बैठकमार्फत उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको थियो। सोही ध्यानाकर्षण अनुसार रास्वपाले बैठक स्थगित गरेको प्रवक्ता ढकालले बताए।

उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। रास्वपाले गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो। उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र बिहीबार सार्वजनिक गरेको छ।

त्यसबेला बहिष्कार गरेका मधेशकेन्द्रित दलहरुबाट अहिले तीन जना उम्मेदवार छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।

जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्। उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि उम्मेदवारी निष्कृय भएको घोषणा गरेकाले उनको नाम पनि आयोगले मतपत्रमा भने राखेको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।

Facebook Comments Box