अरु पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैनौं : अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, २६ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् ।

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’

एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए । ओलीले एमाले लामो दौडको घोडा भएको बताए ।

‘सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।’ ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए ।

उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए । ओलीले भने, ‘हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन ।’

Facebook Comments Box