प्रदेश १ को नामाकरण ‘कोशी’ प्रस्ताव भएकोमा नेकपा एस पार्टीको संशोधन दर्ता, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ, १७ फागुन – प्रदेश १ को नामाकरण ‘कोशी’ प्रस्ताव भएकोमा नेकपा एकीकृत समाजवादी पार्टीले संशोधन दर्ता गराएको छ। सो पार्टीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले संशोधन दर्ता गरेका हुन्।

कोशी प्रदेशको प्रस्तावमा संशोधन दर्ता गराउनका लागि सभामुख बाबुराम गौतमले २ घण्टाको समय दिएका थिए। प्रदेश सभा बैठकमा कोशी प्रदेश नामाकरण बारेमा छलफल सकिएको छ।

नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन्। तर, कांग्रेसकै सांसद सम्शेर राई र विनोद राईले नाममा किरात जोड्नुपर्ने मत राखेका छन्। यस्तै, एमालेका रमेश बस्नेतले पनि किरात नाम राख्दा जनमतको सम्मान हुने धारणा राखेका छन्।

माओवादी केन्द्रले पहिचान सहितको नाम आउनु पर्ने आफ्नो चाहना रहेको भएपनि सोही कारण आउन लागेको नामको विषयमा बाधक नबन्ने बताएको छ। नेकपा एकीकृत समाजवादी र जसपा भने त्यसको विपक्षमा उभिएका छन्।
कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको थियो।

नाममाथि एकीकृत समाजवादी पार्टीले संशोधन दर्ता गरेपछि त्यसमाथि छलफल गरेर निर्णय हुने र संशोधन प्रस्ताव दर्ता नभए कोशी प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरिने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए।

यसअघि कोशी नामकरण गर्ने एमाले सांसद रामबहादुर मगरले राखेको प्रस्ताव अत्याधिक बहुमतले स्वीकृत भएको थियो। नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात–लिम्बूवान–सगरमाथा राख्ने प्रस्ताव भने अस्वीकृत भएको थियो। प्रदेश सभाको बैठक सुरु भएको छ।

त्यस्तै नेता राजेन्द्र राईले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। राईले राखेको ‘किरात–लिम्बूवान–सगरमाथा’ नाम राख्न संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

राईले कोशी प्रदेश नामाकरणका बारेमा किरात लिम्बूवान संसोधन दर्ता गरेकोमा सभामुख बाबुराम गौतमले संशोधन फिर्ता लिन आग्रह गरेपनि राईले फिर्ता लिन नमानेपछि प्रदेश सभाले बहुमतले अस्वीकृत गरेको छ।

नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस कोशी प्रदेशको पक्षमा उभिएका छन् भने नेकपा एकीकृत समाजवादी र जसपा भने त्यसको विपक्षमा उभिएका छन्।

Facebook Comments Box