आज काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं, १६ फागुन – आज काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो।

‘यसमा पनि पोखरा र ताप्लेजुङ क्षेत्रमा पानी पर्ने बढी सम्भावना छ भने आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने। यस्तै आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए।

‘खासगरी पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना बढी देखिन्छ’, मौसमविद् झाले भने। मौसम महाशाखाको बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Facebook Comments Box