सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छ : राष्ट्रपति

काठमाडौँ, ६ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताउनुभएको छ ।

महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।

मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ । पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको राष्ट्रपति भण्डारीले प्रष्ट पार्नुभयो । उहाँले प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइने विश्वास व्यक्त गर्नुभयो ।

“पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौँ उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमति, रुद्रमती, इच्छुमतीलगायतका नदीलगायत मुलुकभरिका फैलिएका पानीका स्रोत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वातस लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

Facebook Comments Box