हस्तक्षेप स्वीकार्दैनौं, नेपालीको सरकार बन्दा इगो नराख्नु : अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ, २३ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका छन्। शनिबार पार्टीका निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसपटक नेपालीले नै सरकार बनाएर सफलता प्राप्त गरेको बताए।
‘हामीले यो सफलता प्राप्त गरेका छौं। नेपालीलाई बनाउन नदिने चाँजोपाँचो थियो। यो ज्यादै ठूलो उपलब्धी हो।’ ओलीले भने। साथै, सरकारलाई फेरफार गर्न सकिन्छ कि भनेर बाह्य शक्ति लागिरहेको आरोप लगाए।
‘अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन कम्पाउन्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं, यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन।’
अहिले कूटनीतिक गतिविधि बढेको भन्दै ओलीले यस्ता क्रियाकलाप बन्द गर्न र सार्वभौम सिद्धान्त अनुसार चल्न छिमेकी र मित्रराष्ट्रहरूलाई आग्रह समेत गरे। कांग्रेसले पुस २६ मा नै सरकार ढाल्ने खुद्रा खेल खेलिरहेको छ : केपी ओली साथै, ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याक?,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

