कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, ७ पुस – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ ।

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भएका छन् ।

तर छिमेकी देश चीनमा फैलिएको र विश्वको अन्य देशमा पनि देखिएको बीएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

डा. अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताए । ‘विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् ।

विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।

Facebook Comments Box