उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी

काठमाडौँ, ५ पुस –  उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चार दिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो।

जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्त्व दिएको छ भने चीन र उत्तर कोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ।

उत्तर कोरियाली विदेश मन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ।

मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकांक्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

उत्तर कोरियाविरुद्ध आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न उत्तर कोरिया तयार छ’, विज्ञप्तिमा भनिएको छ।

सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमा जापानविरोधी भावना अद्यापि कायम छ। विशेष गरी उत्तर कोरियाले जापानको कठोर शब्दमा आलोचना गरिरहेको छ। जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ।

Facebook Comments Box