दार्चुलास्थित नेपाल भारत सीमामा तनाव
काठमाडौँ, १८ मङ्सिर – दार्चुलास्थित नेपाल भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ४ जना नेपाली घाइते भएका छन्।
त्यसको विरोधमा नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ। भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको हो।
आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। ‘केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ,’ उनले भने।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीब्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन्।

