नवौँ राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा विजेता खेलाडीलाई पुरस्कार घोषणा

कास्की, २७ असोज – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई क्रमश : रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गरिने निर्णय भएको छ । उहाँका अनुसार कुनै पनि टिम खेलतर्फ विजेतालाई नगद रु पाँच/पाँच हजार दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिनेछ ।

महानगरबाट राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई आज शुभकामना व्यक्त गर्दै महानगर प्रमुख आचार्यले महानगरवासीलाई एकताबद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकुद हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउनेसँगै पदक जितेर पोखरा र गण्डकीको सान बढाउन सबैमा आग्रह गर्न चाहन्छौँ ।”

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीलाई जीतको शुभकामना दिँदै गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौँ राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहीँ राख्ने गरी मिहनेत गर्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “हाम्रा लागि ठूलो अवसर अहिले प्राप्त भएको छ, नवौँ राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौँ । अब प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्न सफल हुनुहोला ।”

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिता औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भए पनि केही खेल असोज २३ देखि पोखरामा जारी छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रङ्गशालामा हुनेछ ।

Facebook Comments Box