तीन प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं, १४ असोज – अहिले केही प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिखेर प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो। ‘अन्य प्रदेशमा अहिले पानी परेको छैन’, उनले भने।

मौसम पूर्वानुमान महाशाखाले आज  दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

मौसमविद् अधिकारीका अनुसार दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। पानी पार्ने प्रणाली मनसुन अन्त्य हुने समय आउनै लागेको भए पनि अबको २/४ दिनभित्र यो बाहिरिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

‘मनसुन अन्त्यतिर छ, तर २/४ दिनभित्र यो बाहिरिने सम्भावना अहिलेलाई देखिएको छैन’, माैसमविद् अधिकारीले भने, ‘यसले गर्दा दसैँभित्र मनसुन सकिने सम्भावना छैन।’ तर त्यस्तो ठूलो वर्षाको सम्भावना अहिलेलाई नदेखिएको मौसमविद् अधिकारीले बताए।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्छाैं, यस हिसाबले फूलपाती (असोज १६) गतेसम्म खासै वर्षाको गतिविधि हुने देखिएको छैन, त्यसपछि चाहिँ वर्षा अलि हुन्छ कि भन्ने संकेत छ।’

मौसमविद् अधिकारीका अनुसार गत जुन ५ मा नेपाल भित्रिएको मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख हो। तर यसमा केही तलमाथि हुन सक्छ। ‘अहिलेसम्मको संकेतले सरदर मितिभन्दा पहिले मनसुनी वायु बाहिरिने सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने। मनसुन बाहिरिएपछि वर्षायाम अन्त्य हुन्छ।

Facebook Comments Box