नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा

काठमाडौं, ३ भदौ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरमा सारिएको हो। नेता गिरीका सहयोगी मन्दिप भारतीका अनुसार तीन दिनअघि नै आईसीयूमा सारिएका उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ।

‘उहाँलाई आईसीयूमा राखेको तीन दिन भयो। डाक्टरहरुले कोशिस जारी छ भन्नुभएको छ’ उनले भने, ‘अहिले भेन्टिलेटरमा राखिएको छ। उहाँको स्वास्थ्यमा सुधारको आशासहित अस्पतालमा प्रार्थना सभा पनि राख्यौँ। सबैको प्रार्थनाले उहाँ ठीक हुने विश्वास छ। अन्तिमसम्म राम्रो हुने विश्वास त हुन्छ नै।’

यसैबीच शुक्रबार नेता गिरीको स्वास्थ्य अवस्थाबारे बुझ्न मेडिसीटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरीको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गरेका छन्।

अस्पतालबाट फर्किएपछि निधिले ट्विटरमा लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कंदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं!’

गिरिको घाँटीमा क्यान्सर भएको छ। साथै निमोनिया पनि देखिएको छ। उनलाई साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए।

Facebook Comments Box