देशभर सामान्य बदली रहि बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ भदौ – अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार यतिबेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविद् श्रेष्ठले अपराह्न वा साँझपख काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएका छन्।
त्यस्तैगरि महाशाखाले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ।

