जापानको जनसंख्यामा यस वर्ष पछिल्लो ९ वर्षयताकै ठूलो गिरावट

काठमाडौँ, २५ साउन – जापानको जनसंख्यामा यस वर्ष पछिल्लो ९ वर्षयताकै ठूलो गिरावट देखिएको छ। जापानको सरकारी तथ्यांकअनुसार जापानको जनसंख्या १२ करोड ६० लाखभन्दा कममा झरेको छ। कमजोर जन्मदर र कोभिड–१९ को प्रतिबन्धको कारण बाहिरबाट आउने मानिसको संख्या घटेसँगै जापानको जनसंख्या पनि घटेको हो।

गत जनवरीमा जापानको जनसंख्या १२ करोड ५९ लाख थियो। जसमा जापानमा बस्ने विदेशीको संख्या पनि सामेल छ। अघिल्लो वर्षको तुलनामा जापानको जनसंख्या ७ लाख २६ हजारले घटेको हो। जापानको ओकिनावाबाहेक सबै ४७ क्षेत्रको जनसंख्या उक्त एक वर्षको अवधिमा घटेको छ।

जापानले मुलुकको जनसंख्या बढाउन जन्मदर बढाउने र मानिसहरुलाई सहरी क्षेत्रभन्दा बाहिर बस्न प्रेरित गर्ने नीति ल्याएको छ। तर, सरकारको नीतिले पनि जनसंख्या बढाउन भने सकेको छैन। जापानमा बस्ने विदेशीको संख्या पनि १ लाख ७ हजारले घटेर २७ लाखमा आइपुगेको छ। अन्तर्राष्ट्रिय सीमामा गरिएको कडाइको कारण लगातार दोस्रो वर्ष जापानमा विदेशीको संख्या घटेको हो।

जापानमा ६५ वर्षभन्दा माथिको जनसंख्यामा भने वृद्धि भएको छ। समग्र जनसंख्याको २९ प्रतिशत मानिसहरु ६५ वा सोभन्दा धेरै उमेरका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष यो उमेर समूहको हिस्सा पनि ०.२७ प्रतिशतले बढेको हो। जापानको जनसंख्यामा ६५ वर्षमाथिको उमेर समूहको हिस्सा सन् १९९४ यताकै उच्च हो।

Facebook Comments Box