आज देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मलङ्गवा, ७ साउन – मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल सरेको मौसमविद्ले बताएका छन्। यसो हुँदा नेपालमा लगातार झरी र ठूलो वर्षाको सम्भावना कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार भारतको दिल्लीदेखि कलकत्तासम्मको क्षेत्रलाई न्यून चापीय रेखाको सरदर स्थान भनिन्छ। अहिले उक्त रेखा त्यसभन्दा केही तल सरेको हो।

‘न्यून चापीय रेखा भएको स्थानमा बादल बन्छ वर्षा हुन्छ’, उनले भने, ‘न्यून चापीय रेखा तल सर्यो भन्दैमा यहाँ पूरै सुक्खा भइहाल्छ भन्ने होइन, पानी त पर्छ नै, तर लगातार झरी र ठूलो वर्षा हुँदैन।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी राति पनि मौसम देशभर आंशिक देखि सामान्य बदली रहनेछ। यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Facebook Comments Box