आईजीपी नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ अब असार ५ गते सुनुवाई हुने

काठमाडौं, ३० जेठ – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखिएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

अब असार ५ गते सुनुवाई हुने एआईजी विश्वराज पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताइन्। आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै बहस गरे। त्यसअघि डीआईजीको रिटमा पक्ष विपक्षको बहस सकिएको छ।

रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन्। सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो। गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो।

जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो।

तर त्यसदिन सुनुवाइ नभएकाले चुँडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। पोखरेलको रिटसँगै अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ।

यसअघि वैशा २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो। कारण देखाऊ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन्।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए।

सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाश हुनेछन्।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो। उनी वैशाख १९ देखि बिदामा थिए।

पोखरेलले थप १० दिन बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएका थिए। त्यसपछि सोमबार पोखरेलले मिसिलमा प्रहरी प्रधान कार्यालयमा बिदा मागेको प्रमाण पनि संलग्न गराएका छन्।

Facebook Comments Box