नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलायाे र बुझायो नयाँ मन्त्रीको नाम

काठमाडौं, २२ जेठ – नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने ।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ती नेताहरुलाई सरकारबाट फिर्ता बोलाएर ५ नेतालाई सरकारमा पठाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

Facebook Comments Box