संगीत रोयल्टी संकलन समाजले १ हजार ६ सय ३८ जनालाई यो वर्ष रोयल्टी वितरण गर्ने
काठमाडौँ, १९ जेठ – लामो समयदेखि जम्मा भएर वितरण हुन नसकेको संगीत रोयल्टी यो वर्ष वितरण हुने भएको छ। संगीत रोयल्टी संकलन समाजले १ हजार ६ सय ३८ जनालाई यो वर्ष रोयल्टी वितरण गर्ने भएको हो। उल्लेखित संख्याका स्रष्टालाई २ करोड ७१ लाख २६ हजार रुपैयाँ रोयल्टी वितरण गर्न लागिएको समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए।
आगामी जेठ २५ गते एक कार्यक्रमको आयोजना गरी रोयल्टी वितरण गर्ने समाजको तयारी रहेको छ। यो रोयल्टी आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/७९ सम्म संकलित रोयल्टी रहेको समाजका महासचिव बद्री पाण्डेले जानकारी दिए। यातायात, रेडियो, टेलिभिजन, सभाहल, मेला महोत्सव, कन्सर्ट र केही टीभी रियालिटी शोबाट उक्त रकम संकलन भएको समाजले जनाएको छ।
डिजिटल तथ्यांक, सदस्यता भएको, योगदान दिएको र युट्युब र्याङकिङको आधारमा रोयल्टी वितरण हुने समाजका अध्यक्ष अधिकारीले बताए। यसपटक एक जना सर्जकले न्युनतम ५ हजार देखि अधिकतम २ लाखसम्म रोयल्टी पाउने भएका छन्।

