आईपीएल क्रिकेटमा बैंगलोरसँग गुजरात ८ विकेटले पराजित
काठमाडौं, ६ जेठ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । मुम्बईमा गएराति भएको खेलमा बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरको जितमा विराट कोहलीले ७३ रनको अर्धशतकीय इनिङ खेले । कप्तान फाप डु प्लेसिसले ४४ रन जोडे । ग्लेन म्याक्स्वेल ४० रन अविजित रहे ।
गुजरातका राशिद खानले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले । बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। गुजरात प्ले अफ पुगिसकेको छ । शीर्ष स्थानको गुजरातले १४ खेलमा २० अंक जोडेको छ ।

