पालिकाहरुमा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आजदेखि सुरु : केही ठाउँको नतिजा आउनै बाँकी

काठमाडौं, ६ जेठ – पालिकाहरुमा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आजदेखि सुरु भएको छ । २०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएसँगै नयाँ जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु भएको हो । तर, नयाँ कार्यकालका लागि भएको चुनावमा केही ठाउँको नतिजा आउनै बाँकी छ।

धेरैजसो ठाउँँको भने अन्तिम नतिजा आइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।

संविधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।

२०७४ सालमा ७ सय ५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिने भएपछि नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । मत परिणाम आउने क्रम अहिले पनि जारी ।

Facebook Comments Box