निर्वाचनको ६ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकामा आधा मत पनि गनिएको छैन

काठमाडौं, ५ जेठ – निर्वाचनको ६ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकामा आधा मत पनि गनिएको छैन। बिहीबारसम्म यहाँका ३२ वडाबाट खसेको मतमध्ये ६१ हजार २२६ मत गनिसकिएको छ।

तर दलहरुबीच गठबन्धन भएकाले त्यही अनुसार खसेका मत गन्न कर्मचारीलाई कठिन भएको छ। हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ। काठमाडौंमा १ लाख ८९ हजार मत खसेको थियो।

अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ। वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ। परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन्।

त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २३ हजार ५८४ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले ११ हजार ९९९ मत पाएकी छन्। त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा छिन्।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाएका छन्। यही गतिमा गनिरहने हो भने अझै डेढ सातामा मात्रै काठमाडौंको परिणाम आउने सम्भावना छ।

Facebook Comments Box