नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमिति पूर्वसभापति कर्ण मल्ल पार्टीबाटै निष्काशित
काठमाडौं, १३ वैशाख – नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमिति पूर्वसभापति कर्ण मल्ल पार्टीबाटै निष्काशित भएका छन्। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका नेता मल्ललाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो।
‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’, मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसको चौधौं महाधिवेशनका क्रममा इतर समूहका मल्लसहितलाई पेलेर जिल्ला अधिवेशन गरेपछि समस्या सुरु भएको थियो। उक्त समस्या बढ्दै गएपछि डडेल्धुरामा मल्ल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो।
यस्तोमा स्थानीय निर्वाचनका क्रममा पनि आफूहरुका माग सुनुवाइ नगरेको भन्दै मल्लले डडेल्धुरामा नेपाली कांग्रेस बीपी सक्रिय गराएर जिल्लाभर उम्मेदवारी दिएका छन्। क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गरिरहेको मल्ल पक्षले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ।
डडेल्धुरामा मल्लनिकट कांग्रेस नेता कार्यकर्ताको पङ्क्ति कांग्रेस (बीपी) मा लागेको हो। छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कार्य समिति आफूसँग रहेको मल्लनिकट नेताहरु बताउँछन्। मल्लले जिल्लाभर एमालेसँग मिलेर उम्मेदवारी दिएपछि कांग्रेसलाई दबाब बढेको छ।

