बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द

म्याग्दी, ३ वैशाख – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ । यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा गाडीको आवागमन बन्द गरिएको थियो।

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइनेछ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ।

२०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले गाडीको आवतजावत प्रभावित हुने गरेको छ।

Facebook Comments Box