इन्जाद्वारा पत्रकार हत्याको भर्त्सना

काठमाडौं, ३ चैत्र – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले समाचार रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको भर्त्सना गरेको छ।

एक हप्तामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अति नै दुःखद खबर भएको इन्जाले जनाएको छ।
इन्जाले रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न अनुरोध गरेको छ।

इन्जाले रूसको यो कार्य स्पष्ट रूपमा युद्ध अपराध भएको र प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् हो भन्ने ठहर गरेको छ। मारिएका पत्रकारत्रय ब्रेट रेनाउड, पियर जाक्रजेव्स्की र ओलेक्सान्ड्रा कुर्सिनोभाप्रति इन्जाले श्रद्धान्जली अर्पण गरेको छ।

अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो भने युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा ‘साशा’ कुभ्साइनोभा, र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की, दुवै कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए। बेलायती पत्रकार बेन्जामिन हल पनि घाइते भएका थिए।

इन्जाले विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकैठाउँमा उभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न अपील गरेको छ।

Facebook Comments Box