टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोटमा ओमानलाई हराउँदै नेपाल तेस्रो
काठमाडौँ, १२ फागुन – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । अल अमेरातमा बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहदै ५५ रन बनाए ।
कुशलले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । आरिफ शेख २१ रनमा अविजित रहे । आसिफ शेख १३ रन बनाएर आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए ।
सेमिफाइनलमा पराजित भएपछि नेपाल र ओमानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरेको हो । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

