आज देश भर आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, १४ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोे जनाएको छ । उक्त प्रणालीका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।
शुक्रबार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

