प्रदेश २ को नाम र राजधानी दुवै विषयमा माघ ३ मा मतदान हुने

जनकपुरधाम, २७ पुस – प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएको छ । प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सकेन ।

आज बसेको समितिको बैठकमा सहमति नजुटेपछि अब मतदानको संभावना बढेको छ । प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश नाम राख्नुपर्ने अडानमा छन् ।

तर, सत्तारुढभित्रकै नेपाली कांग्रेसले मिथिला-भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एस भने जानकी प्रदेशको पक्षमा छन् । विशेष समितिका अध्यक्ष एवं सभामुख यादवले कांग्रेस भोजपुरा त्याग्न तयार रहे पनि मधेशअगाडि मिथिला थप्नुपर्ने भन्दै सहमतिनजिक आएको बताए ।

कांग्रेसको प्रस्तावमा नेकपा एसले पनि सहमति जनाएको तर मधेशवादी दलले अस्वीकार गरेपछि मतदान हुने संभावना बढेको उनको भनाइ छ । उनका अनुसार माघ २ गते प्रदेशसभा बैठक बोलाउने सहमति भएको छ ।

त्यसअघि सहमति भयो भने ठिक छ । होइन भने नाम र राजधानी दुवै विषयमा माघ ३ मा मतदान हुन्छ । हुन त यसअघि पनि नाम र राजधानी विषयमा मतदान भइसकेको छ । तर, दुई-तिहाई बहुमत आवश्यक पर्ने भएकाले कुनै प्रस्ताव पारित भएन ।

मधेश प्रदेशको पक्षमा रहेको जसपा, लोसपा र माओवादी केन्द्रको ६३ सांसदमात्र पुग्छन् । दुई तिहाईका लागि ७ सांसद अपुग छ । जानकी प्रदेशको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ सांसद छन् । यस्तै मिथिला भोजपुराको पक्षमा कांग्रेसका १८ जना छन् ।

कांग्रेसकै सांसद राजेश्वरप्रसाद साह मधेशको पक्षमा उभिएका छन् । वीरगञ्जका केही सांसद भने राजधानी वीरगञ्जलाई बनाउनुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

Facebook Comments Box