भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक विस्तार जारी राखेकोमा एमालेकाे आपत्ति
काठमाडौं, २७ पुस – प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक विस्तार जारी राखेकोमा आपत्ति जनाएको छ।
नेपाली भूमिमा भइरहेको सडक निर्माणमा पाँच दलीय गठबन्धन संलग्न नेपाल सरकारको मौनताले अनेकौँ प्रश्न जन्माएको पनि एमालेले जनाएको छ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर भारतसँगको सीमा समस्याबारे अविलम्ब वार्ता गर्न पनि सरकारलाई भनेको छ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिन्न भूभाग हुन्। गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवम् संविधान संशोधनमार्फत नेपालले यसबारे आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ’, भट्टराईले भने, ‘ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ।’
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने सहमति विगतमा भए पनि त्यस विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्र पारेकोमा गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ।


