काठमाडौँ उपत्यकामा १५२ जना सहित देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५२ जना सहित देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार ६०६ आरटी पीसीआर तथा २ हजार ४२० एन्टीजेन परिक्षण सहित ५ हजार २६ जनाको परिक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित निको भएका छन् । यो
सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ रहेको छ ।

