आज देशभर आंशिक देखि सामान्य बदली हुनेछ भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना
काठमाडौँ, १६ असोज – वर्षा याम सुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनुपर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन अझै केही दिन रहने देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूवानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेसम्मको अनुमानमा कम्तीमा अरू ती दिन सोमबारसम्म मनसुन बाहिरिने छाँटकाँट देखिएको छैन। नेपालबाट मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ भए पनि यसपटक केही लम्बिएको हो।
मनसुन बिदा भएपछि पोस्ट मनसुन सुरु हुने र त्यसको केही समयपछि विन्टर अर्थात् हिउँद याम सुरु हुने मौसमविद् नगरकोटीले जानकारी दिइन्। मौसमविद् नगरकोटीका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।
‘कतै हल्का, कतै छिटफुट र कतै मध्यमसम्म वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘बिहानै काठमाडौंमा पनि छिटफुट वर्षा भएको थियो तर अहिले रोकिएको छ।’ उनका अनुसार आज दिउँसो वा अपराह्नतिर काठमाडौंमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ भने प्रदेश २ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लखे छ।

