जुडीफाँट-चिसापानी खण्डमा दर्जन पहिरो, सडक अवरुद्ध
तनहुँ, १३ भदौ – अविरल वर्षाका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट-चिसापानी सडकखण्डमा एक दर्जन पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारीसाधन भानुमती उक्लेर भीमाद हुँदै गुडिरहेको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । सडक अवरुद्ध हुदाँ दुई जिल्लाको जनजवीन प्रभावित बनेको छ ।
गत असारमा पनि पहिरो खसेको थियो । एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न थालेका थिए । तर, फेरि पहिरो खसेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० जुडीफाँटदेखि स्याङजाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेको काम भइरहेको छ ।
प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो । ३२ करोड ६५ लाख रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरेको छ ।

