मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध
मकवानपुर, ११ भदौ – अविरल वर्षाका कारण पहिलो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।

