शुक्र ग्रह अस्ताउँदै, दसैँको टीका–जमरा लगाउन बाधा नपर्ने

काठमाडौँ । आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ। आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा शुक्र ग्रह पूर्व दिशामा उदय हुने जनाइएको छ। शुक्र ग्रह अस्ताएको अवधिमा बडादसैँ परे पनि देवीपूजा, फूलपाती, महाअष्टमी, महानवमी तथा विजयादशमीका धार्मिक अनुष्ठान गर्न र टीका–जमरा ग्रहण गर्न कुनै बाधा नपर्ने ज्योतिषीय मान्यता रहेको छ।

ज्योतिष शास्त्रअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा पुगेपछि ग्रह अस्त भएको मानिन्छ। शुक्र ग्रहलाई धन, प्रेम, विवाह, विलासिता र शुभ कार्यको कारक मानिने भएकाले यसको अस्त अवस्थामा नयाँ तथा माङ्गलिक कार्य गर्न नहुने धार्मिक विश्वास छ।
शास्त्रीय मान्यताअनुसार शुक्र ग्रह अस्त हुनुभन्दा तीन दिन अघिदेखि र उदय भएको तीन दिन पछिसम्म शुभ कार्य गर्न वर्जित मानिन्छ।

तर, यस अवधिमा नियमित पूजा, व्रत, श्राद्ध, तर्पण तथा अन्य नित्य र नैमित्तिक धार्मिक कर्म गर्न भने रोक नहुने बताइएको छ। यसै अवधिमा पर्ने बडादसैँका अवसरमा नवदुर्गाको पूजा, सप्तशती चण्डी पाठ, अष्टमीको बलिपूजा, हातहतियार पूजा, देवी विसर्जन तथा दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न शास्त्रीय बाधा नपर्ने जनाइएको छ।

यद्यपि, शुक्र अस्तको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माणको थालनी, देवताको प्राणप्रतिष्ठा, मन्दिर निर्माण, कर्णवेध तथा अन्य नयाँ माङ्गलिक कार्य गर्न शास्त्रले निषेध गरेको छ। त्यस्तै, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत तथा राज्याभिषेकजस्ता कार्य पनि यस अवधिमा वर्जित मानिन्छन्। शुक्र ग्रहलाई सवारीसाधन र विलासिताको कारकसमेत मानिने भएकाले यो अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री नगर्नु उचित हुने ज्योतिषीय मान्यता रहेको छ।

Facebook Comments Box