भारतको बिहारमा गङ्गा नदीमा डुङ्गा दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मङ्गलबार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति सवार डुङ्गा नदी पार गर्ने क्रममा पल्टिएको थियो। दुर्घटनापछि नदीमा डुबेका यात्रुको उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार घाइतेमध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। उद्धारका लागि राज्य विपद् प्रतिकार्य बलको टोली परिचालन गरिएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेको बताइएको छ। मृतकमध्ये केहीको पहिचान खुले पनि दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। घटनापछि उद्धार व्यवस्थापन र प्रशासनको भूमिकालाई लिएर स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। घटनास्थल पुगेकी जिल्ला अधिकारी सिंहलाई स्थानीयले घेराउ गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए।

यसैबीच, बिहार सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री कार्यालयका तर्फबाट मृतकका परिवारलाई थप दुई लाख भारतीय रुपैयाँ उपलब्ध गराइने जनाइएको छ। यसअनुसार मृतकका परिवारले जनही छ लाख भारतीय रुपैयाँ राहत पाउनेछन्।

घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरिएको छ। गङ्गा नदीमा भएको यस दुर्घटनाले डुङ्गाको क्षमता, नदीमा सुरक्षित आवागमन र यात्रुको सुरक्षाबारे प्रश्न उठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box