नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको चौथो दिन आज नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा देशभरका विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजाकोठामा देवी कुष्माण्डाको पूजा भइरहेको छ। दर्शन तथा पूजाआजाका लागि विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतिर अन्धकार छाएका बेला देवी कुष्माण्डाले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गर्नुभएको थियो। ब्रह्माण्डको उत्पत्ति गराउने शक्तिका रूपमा उहाँलाई सृष्टिको आदिस्वरूपा तथा आदिशक्ति देवी मानिन्छ। उहाँको निवास सूर्यमण्डलभित्र रहेको धार्मिक विश्वास छ।
आठवटा हात भएकी देवी कुष्माण्डाको वाहन सिंह हो। उहाँका हातमा कमण्डलु, धनुष, बाण, कमल, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि तथा निधि प्रदान गर्ने माला रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। देवी कुष्माण्डाको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले आयु, यश, बल र आरोग्य वृद्धि हुने धार्मिक विश्वास छ।
यस दिन देवीलाई कुभिण्डो चढाउने तथा मालपुवा प्रसादका रूपमा अर्पण गर्ने परम्परा पनि रहेको छ। शास्त्रीय विधिअनुसार कलश, दीप र गणेश स्थापना गरी सङ्कल्पसहित देवीको पूजा गरिन्छ। पूजाका क्रममा कमल तथा रातो फूल, पञ्चामृत, फलफूल र नैवेद्य अर्पण गरी देवीको स्तोत्र पाठ, आरती र प्रसाद वितरण गर्ने चलन छ।

