म्याग्दीमा पहिरोले आमा खोस्दा दुई बालक टुहुरा, १६ दिन खोज्दा पनि शव भेटिएन

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–३ छेपारेमा पहिरोमा पुरिएर बेपत्ता भएकी आमाको शोकमा १६ र १४ वर्षीय दुई दाजुभाइ किरियामा बसेका छन्। गत असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी ३८ वर्षीया कुमारी वली विश्वकर्माको शव १६ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले असोज २६ गते कुशको शव बनाएर दाहसंस्कार गरेको हो।

आमाको निधनको पीडासँगै दुवै दाजुभाइले घरसमेत गुमाएका छन्। बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पुजन र जीवन अहिले आमाको सम्झनामा दिनरात भावविह्वल छन्। परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर कुमारीका श्रीमान् ओमबहादुर विश्वकर्मा दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुग्नुभएको थियो। उहाँले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाउनुभएन।

असोज ८ गतेदेखि परेको अविरल वर्षापछि छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो। बेनीमा बस्दै आएकी कुमारी असोज १० गते साँझ छोराहरूसँग गाउँ पुग्नुभएको थियो। भोलिपल्ट बिहान घरका सामान सुरक्षित स्थानमा सार्ने क्रममा अचानक खसेको पहिरोमा उहाँ पुरिनुभएको हो।

पहिरोबाट उहाँका दुवै छोरा र सासू जीतमायाले भने ज्यान जोगाउनुभएको थियो। पहिरोले कुमारीको घरसँगै दुईवटा गोठसमेत बगाएको छ। परिवारका अन्य सदस्य र आफन्तका घरमा पनि क्षति पुगेको छ। कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले घर धान्ने बुहारी गुमाउँदा परिवारको सहारा नै खोसिएको बताउनुभएको छ। कुमारीकी दिदी मनिषा सुनारले पनि बहिनी गुमाउनुको पीडा सहन नसकेको बताउँदै विदेशमा रहेका ज्वाइँका दुई छोराको अभिभावकत्व लिएर पढाउने योजना बनाउनुभएको छ।

पहिरोका कारण छेपारेका अन्य परिवारसमेत विस्थापित भएका छन्। वडाध्यक्ष पदम पुनका अनुसार विस्थापित परिवारलाई हाल खाली घरमा राखिएको छ। उनीहरूको पुनःस्थापना र पुनर्निर्माणका लागि राज्यका नीति तथा कार्यक्रमअनुसार सहजीकरण गरिनेछ।
पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइपमा समेत क्षति पुर्‍याएको छ।

स्थानीय बासिन्दाले दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न नसके छेपारेका १० देखि १५ घरपरिवार विस्थापित हुनुपर्ने जोखिम रहेको बताएका छन्। घर र सम्पत्ति फेरि बनाउन सकिए पनि आमाको माया गुमाएका दुई बालकको पीडा भने अपूरणीय बनेको छ। पहिरोको जोखिमसँगै विस्थापित परिवारको पुनःस्थापना र बस्ती संरक्षण अहिले स्थानीयवासीका लागि मुख्य चुनौती बनेको छ।

Facebook Comments Box