कुनौटा भिरमा सडकको मार्ग छिचोलियो, बेनी–जोमसोम सडक खुलाउन तीव्रता
म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खुलाउने काम तीव्र पारिएको छ। सडक मर्मतको प्रमुख चुनौती मानिएको म्याग्दीको कुनौटा भिरमा बाढीले बगाएको सडकको मार्ग छिचोलिएको छ।
रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा असोज ११ गते कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेर बगाएको थियो। सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार चार दिनको प्रयासपछि माटो भरेर सडकको मार्ग तयार गरिएको हो। सवारीसाधन सञ्चालनयोग्य बनाउन भने थप एक–दुई दिन लाग्नेछ।
बुधबार कुनौटामा छवटा एक्साभेटर र त्यति नै सङ्ख्यामा टिप्पर परिचालन गरी दुईतर्फबाट मर्मतको काम गरिएको थियो। असोजको दोस्रो साताको वर्षापछि बेनी–जोमसोम–कोरला सडकका ५५ स्थानमा अवरोध सिर्जना भएको थियो। बाढीले १० स्थानमा सडक कटान गरेर बगाएको तथा भत्काएको छ।
मालढुङ्गादेखि कुनौटासम्म र कोरलादेखि पोखरेबगर पुलसम्म ठूला सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ। पोखरेबगरदेखि कुनौटाबीचका विभिन्न स्थानमा पहिरो पन्छाउने, सडक फराकिलो बनाउने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ। पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग जोड्न ग्याबियन पर्खाल निर्माणसमेत भइरहेको छ। आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।
सडक मर्मतका लागि सडक विभाग र निर्माण व्यवसायीका एक्साभेटर, टिप्पर तथा लोडरसहित जनशक्ति परिचालन गरिएको छ। सडकमा यसपटकको विपद्ले ठूलो क्षति पुर्याएको र पुनर्निर्माणका लागि करिब तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
बेनी–जोमसोम–कोरला सडक चीनसँगको व्यापारका लागि महत्वपूर्ण मानिन्छ। रसुवा र तातोपानी नाका बन्द रहेकाले कोरला नाकाको महत्व थप बढेको छ। सडक अवरुद्ध हुँदा चीनबाट सामान बोकेर आएका करिब पाँच सय कन्टेनर गन्तव्यमा पुग्न प्रतीक्षारत छन्। यस्तै, मुस्ताङको स्याउ बजार पठाउने समय, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा ढुवानी र पर्यटकीय याम सुरु भएकाले पनि सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।

