दसैँमा तोकिएभन्दा बढी भाडा नलिन यातायात व्यवसायीको आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने बताएका छन्। सरकारले असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।

यात्रु तथा मालवाहक सवारी सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर सङ्घ–सङ्गठन तथा सुरक्षा निकायबीच समन्वय गरिएको छ। महासङ्घले अग्रिम टिकट बुकिङका लागि सातै प्रदेश, जिल्ला समिति, सदस्य संस्था तथा काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ। टिकट काउन्टरमा खटिने कर्मचारीले परिचयपत्र र तोकिएको पोसाक अनिवार्य लगाउनुपर्नेछ।

यस्तै, यात्रुको चाप व्यवस्थापन गर्न घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाउनेछन्।

घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकारका सार्वजनिक सवारीसाधनमाथिको प्रतिबन्ध भने यथावत् रहनेछ। काठमाडौँ उपत्यकाका प्रमुख नाकामा यात्रु सहायता कक्ष स्थापना गरी अनुगमन र सहजीकरण गरिने भएको छ। गोङ्गबु, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा महासङ्घले समेत प्रतिनिधि खटाउने जनाएको छ।

दसैँको समयमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई पनि प्राथमिकता दिइएको छ। टेकुस्थित सवारी परीक्षण कार्यालयका प्राविधिक कर्मचारी परिचालन गरी गोङ्गबु बसपार्कमै निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासङ्घले जनाएको छ।

Facebook Comments Box