विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौँ, २८ माघ – आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। महिला तथा बालिकालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा यस दिवसले जोड दिएको छ।

संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई विज्ञानमा महिला तथा बालिकाको अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो।

विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ। महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे पनि यी क्षेत्रमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून रहेको तथ्यांकहरूले देखाउँछन्।

लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको प्रमुख एजेन्डामध्ये एक हो। महिला तथा बालिकाको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूचीअन्तर्गतका सबै लक्ष्य र उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने संयुक्त राष्ट्रसङ्घले उल्लेख गर्दै आएको छ।

महिलासम्बन्धी राष्ट्रसङ्घीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो ५५औँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाको पहुँच र सहभागिता विस्तार गर्ने तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवर्द्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो।

त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा संयुक्त राष्ट्रसङ्घीय महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकालाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको उल्लेख गरेको थियो।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गर्नुभएको वक्तव्यमा विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ।

Facebook Comments Box