बाँदरको हैरानीपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित
भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसान वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान तथा विभिन्न फलफूल बाँदरले सखाप पार्न थालेपछि ती बाली जोगाउन कठिन भएसँगै किसानले बेसार खेती विस्तार गर्न थालेका हुन् ।
विशेषगरी तल्लो भेग तथा जंगल आसपासका क्षेत्रमा बाँदरको प्रकोप बढी रहेकाले ती क्षेत्रमा बेसार खेती बढ्दै गएको भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज फुँयालले बताउनुभयो । “मकै, कोदोजस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,” उहाँले भन्नुभयो, “बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या भएका ठाउँमा बेसार खेती गर्ने चलन बढेको छ ।”
बेसार खेतीबाट आम्दानीसमेत राम्रो हुने किसानको भनाइ छ । भोजपुर नगरपालिका–५ की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहज रूपमा बिक्री हुने गरेको छ । हाल स्थानीय बजारमा बेसारको पिठो प्रतिकुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
उत्पादित बेसार बिक्रीका लागि बजारको समस्या नभएपछि किसान थप उत्साहित भएका छन् । जंगल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्न नपाउँदै बाँदरले नष्ट गर्ने समस्या वर्षौंदेखि रहँदै आएको किसानको भनाइ छ । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारीमा लगाइएका अधिकांश अन्नबाली नष्ट गरे पनि जमिनमुनि फल्ने र बाँदरले नरुचाउने भएकाले बेसार सुरक्षित बाली बनेको छ ।
बाँदर प्रभावित क्षेत्रका लागि बेसार वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको उहाँले बताउनुभयो । कम लगानी र तुलनात्मक रूपमा थोरै मेहनतमा उत्पादन गर्न सकिने, औषधीय गुणयुक्त तथा लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि किसानको बेसार खेतीप्रति आकर्षण बढेको छ ।
बाँदरको प्रकोपका कारण बाँझिन थालेका खेतबारीमा बेसार खेती विस्तार गरेर उत्पादन र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसानले बताएका छन् । स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले उन्नत बीउ, प्रविधि र बेसार प्रशोधन गर्ने मेसिनको व्यवस्था गर्न सके भोजपुरमा बेसार उत्पादन थप विस्तार गर्न सकिने किसानको भनाइ छ ।

