काठमाडौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा एक छात्रा बलात्कृत
काठमाडौं, २४ जेठ – काठमाडौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा एक छात्रा बलात्कृत भएकी छन्। रेस्टुरेन्टकै वेटरबाट आफू बलात्कारमा परेको भन्दै उनले जाहेरी दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
रेस्टुरेन्टका वेटर दोलखाका जीवन फुयाँल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत २१ वर्षीया छात्रा अन्य साथीहरुसँगै उक्त रेष्टुरेन्टमा इन्टर्नसिपका लागि गएकी थिइन्।
केसीले गत शुक्रबार राति कोल्ड ड्रिङ्समा मदिरा मिसाएर खुवाएको र पछि बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। पीडितले तत्काल प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खत्रीलाई त्यही रात साढे ११ बजे पक्राउ गरेको मैनालीले बताए। प्रहरी वृत्त दरबारमार्गको टोलीले उनलाई तत्काल पक्राउ गरेको थियो।
खत्री त्यहाँ तीन महिनादेखि कार्यरत रहेको प्रहरीको भनाई छ। खत्री उपर जबरजस्ती करणीको मुद्दामा ७ दिन म्याद थप गरी दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको मैनालीले बताए।

