ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले पाएनन् सिँचाइ सुविधा

सर्लाही, १९ भदौ – सर्लाहीको बलरामा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको सिँचाइ ब्यारेज ३१ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। व्यवस्थित नहरको अभावमा बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सीमाना सुदामामा निर्माण गरिएको ब्यारेज अलपत्र अवस्थामा छ।

बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा करिब रु छ करोडको लागतमा ब्यारेज निर्माण गरिएको थियो। सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत तत्कालीन दर्जनभन्दा बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको ब्यारेज प्रयोगमै नआएर जीर्ण बन्दै गएको हो।

कृषिका लागि उर्वर मानिने यस क्षेत्रमा भरपर्दो सिँचाइ सुविधा नहुँदा किसान अझै वर्षाको पानीको भरमा खेती गर्न बाध्य छन्। बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहका अनुसार सयौँ बिघा खेतीयोग्य जमिन वर्षायाममा डुबानमा पर्ने र हिउँदमा बाँझो रहने गरेको छ।

ब्यारेजसँग जोडिएको एउटा नहर भए पनि त्यो व्यवस्थित नहुँदा पर्याप्त सिँचाइ हुन सकेको छैन। वर्षायाममा नहरबाट आएको पानी अनियन्त्रित भएर ब्यारेज आसपासका केही खेतसम्म पुग्ने गरे पनि बाँकी क्षेत्रका किसान पम्पसेट र विद्युत् मोटरको भरमा खेती गर्न बाध्य छन्। मौसम प्रतिकूल हुँदा मोटरबाट गरिएको खेतीसमेत नोक्सान हुने किसानको गुनासो छ।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवका अनुसार ब्यारेज निर्माणस्थलको भौगोलिक अवस्थाका कारण रामनगरतर्फ पानी लैजान समस्या भएको छ। “यहाँको भूभाग कोल्टे पर्छ। ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन। त्यसैले सोही खोलाको माथिल्लो भागमा बाँध निर्माण गरेर रामनगरका किसानलाई सिँचाइ सुविधा पुर्‍याइरहेका छौँ,” उहाँले भन्नुभयो।

बलरा नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले व्यवस्थित नहर निर्माण गर्न सके नगरपालिकाका अधिकांश खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सकिने बताउनुभयो। ब्यारेजको संरक्षण र स्वामित्वसमेत स्पष्ट नहुँदा संरचना जीर्ण बनेको उहाँको भनाइ छ।

नगरपालिकाले ब्यारेजको सामान्य मर्मतसम्भारका लागि बजेट विनियोजन गर्नुका साथै ब्यारेज र आसपासको क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि सारेको जनाएको छ। नगरप्रमुख कुशवाहाका अनुसार ब्यारेज व्यवस्थापन र नहर निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारसँग पटकपटक आग्रह गरिएको छ।

गत आर्थिक वर्षमा ब्यारेज मर्मत तथा नहर निर्माणका लागि प्रदेश र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराए पनि समयमा काम हुन नसक्दा उक्त रकम फिर्ता गएको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षमा रु दुई करोड बजेटबाट नहर निर्माणको काम अघि बढाउने तयारी गरिएको उहाँको भनाइ छ।

यता स्थानीय किसानले भने किसानको सिँचाइ सुविधाका लागि आएको बजेटसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको आरोप लगाएका छन्। किसान गगनदेव सिंहले खेतनजिकै बाह्रै महिना पानी बग्ने खोला भए पनि आफूहरूले महँगोमा डिजेल मोटर प्रयोग गरेर सिँचाइ गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

किसानले ब्यारेज मर्मत गरी पक्की नहर निर्माण गरेर खेतसम्म नियमित पानी पुर्‍याउन माग गरेका छन्। उनीहरूले राज्यको ठूलो लगानीबाट बनेको संरचना उपयोगविहीन हुने र किसानले सिँचाइ सुविधा नपाउने अवस्था अन्त्य गर्न तत्काल पहल गर्नुपर्ने बताएका छन्।

Facebook Comments Box