गणेश यादवका परिवारसँग आठबुँदे सहमति, निष्पक्ष छानबिन र कारबाहीको प्रतिबद्धता
जनकपुरधाम, १६ साउन – गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठबुँदे सहमति भएको जानकारी दिनुभएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका–स्थित तुलसीयाहीमा रहेको मृतक यादवको निवास पुगेर परिवारसँग छलफल गर्नुभएको थियो। छलफलमा मृतकका बुबा, आमा तथा आफन्त सहभागी भएका थिए।
गृहमन्त्री गुरुङका अनुसार मृतक परिवारले उठाएका घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, क्षतिपूर्ति उपलब्ध गराउने तथा परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चिततासहितका मागमा सहमति भएको छ। यसका साथै, सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने तथा परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति पनि भएको उहाँले बताउनुभयो।
गृहमन्त्री गुरुङले गोलबजार घटनाको छानबिन निष्पक्ष र प्रभावकारी रूपमा हुने तथा घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।

