डिजिटल कर्जाको सीमा १० लाख रुपैयाँसम्म, राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं,  २६ जेठ – अब डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा १० लाख रुपैयाँसम्म पुग्ने भएको छ। नेपाल राष्ट्र बैंक ले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार लघु, साना तथा मझौला व्यवसायी (एमएसएमई) ले धितोबिनै डिजिटल माध्यमबाट दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम १० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाको सीमा ५ लाख रुपैयाँ कायम गरिएको छ। यस प्रकारको कर्जाको अवधि भने एक वर्ष तोकिएको छ। राष्ट्र बैंकले मार्गदर्शनको उद्देश्यमा नयाँ व्यवस्था थप्दै लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय कारोबारका आधारमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने नीति लिएको जनाएको छ।

नयाँ मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकको डिजिटल कारोबार, भुक्तानी विवरण तथा व्यवसायसम्बन्धी अन्य तथ्याङ्कका आधारमा कर्जा विश्लेषण गर्न प्रविधि सेवा प्रदायक संस्था (टीएसपी) सँग सहकार्य गर्न सक्नेछन्। यद्यपि, कर्जासम्बन्धी जोखिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै हुने व्यवस्था गरिएको छ।

हाल कायम रहेको व्यवस्थाअनुसार तलबी खाता भएका ग्राहकले अधिकतम ५ लाख रुपैयाँसम्म तथा अन्य खाता भएका ग्राहकले २ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्ने व्यवस्था यथावत् राखिएको छ। यस्ता कर्जाको भुक्तानी अवधि अधिकतम तीन वर्ष रहनेछ। राष्ट्र बैंकको यो व्यवस्थाले विशेषगरी साना व्यवसायीलाई औपचारिक वित्तीय पहुँच विस्तार गर्न तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box