१३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस आज मनाइँदै
काठमाडौँ, १८ वैशाख – ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराबाट प्रेरित मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। नेपालमा पनि यस अवसरमा सार्वजनिक बिदा दिइएको छ।
दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले देशभर विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा श्रमिक, रोजगारदाता तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी हुँदै श्रमिकका हक–अधिकार, न्यूनतम पारिश्रमिक, रोजगारी सृजना र सामाजिक सुरक्षालगायत विषयमा छलफल गरिनेछ।
सन् १८८६ मा सुरु भएको श्रमिक आन्दोलनलाई संस्थागत गर्दै सन् १८८९ मा पेरिस मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता यो दिवस विश्वभर मनाइँदै आएको छ। नेपालमा विराटनगर मजदुर आन्दोलन (विसं २००७) पछि श्रमिक दिवस मनाउने चलन सुरु भएको हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि भने यस दिन सार्वजनिक बिदा दिन थालिएको हो।
नेपाल सरकारले श्रमिकको हक–हित संरक्षण, रोजगार बजार व्यवस्थापन र सामाजिक सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ। हाल श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० कायम गरिएको छ, जसलाई प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ। श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ कार्यान्वयनमार्फत श्रमिक अधिकार सुदृढ पार्ने प्रयास भइरहेको छ। साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन्।
नेपालबाट ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने भएकाले अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ। तर प्रविधिको विकाससँगै श्रम बजार तीव्र रूपमा परिवर्तन भइरहेकाले रोजगारी सिर्जना र श्रमिकको सुरक्षा सुनिश्चित गर्नु चुनौतीपूर्ण बनेको छ। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउँदै विदेशबाट प्राप्त सीप, पुँजी र अनुभवलाई स्वदेशमै उपयोग गर्ने नीति अघि बढाएको जनाएको छ।

