राहदानी सेवा केही समय अवरुद्ध हुन सक्ने विभागको स्पष्टोक्ति
काठमाडौँ, २९ फागुन – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली जडानका क्रममा अन्तरिम अवधिमा राहदानी सेवा केही समय अवरुद्ध हुन सक्ने जनाएको छ। विभागले आज जारी गरेको सूचनाअनुसार पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने प्रक्रियाका कारण सेवा प्रभावित हुनसक्ने जनाएको हो।
सूचनामा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्ने उल्लेख गरिएको छ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने विभागले स्पष्ट पारेको छ।
नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीले राहदानी प्राप्त गर्न हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।
विभागले राहदानी वितरण प्रणाली सुधारका लागि नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाएको जनाएको छ। आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन विभागले आग्रह गरेको छ। साथै नयाँ प्रणाली कार्यान्वयनसम्बन्धी विस्तृत सूचना निकट भविष्यमा सार्वजनिक गरिने विभागले जनाएको छ।

