प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट

काठमाडौँ, १६ फागुन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आचारसंहिता उल्लङ्घनसम्बन्धी अधिकांश उजुरी फछ्र्यौट भएको छ। निर्वाचन आयोगका अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी दर्ता भएका थिए। तीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत उजुरी फछ्र्यौट गरिएको आयोगले जनाएको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए। आयोगका अनुसार अधिकांश उजुरी तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको विषयमा परेका छन्।

यसैगरी सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि चुनावी प्रचारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको तथा अनुमति नलिई सवारीसाधन प्रयोग गरेको जस्ता विषयमा पनि उजुरी परेका छन्। आयोगले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

Facebook Comments Box