विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ, १ फागुन – जिल्ला प्रशासन कार्यालय काठमाडौं ले अतिसंवेदनशील क्षेत्र मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने स्पष्ट पारेको छ। यस्ता गतिविधि भए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते विमानस्थल र आसपासका क्षेत्रमा केही समूह तथा राजनीतिक दलबाट प्रदर्शन, भेला र र्याली गर्ने भनी जारी गरिएका विज्ञप्ति तथा सामाजिक सञ्जालका सामग्रीप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि हालसम्म कसैले अनुमति नलिएको उहाँले उल्लेख गर्नुभयो। सार्वजनिक सूचनामार्फत प्रशासनले निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको जनाएको छ। साथै, यस्ता गतिविधिमा निर्वाचनविरोधी भनिएका समूहको घुसपैठ हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ।

विज्ञप्तिमा आसन्न निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान, अन्तरराष्ट्रिय विमानस्थलजस्तो संवेदनशील स्थानको सुरक्षा, यात्रुको सहज आवागमन तथा सार्वजनिक सडकमा निर्वाध यातायात सञ्चालनलाई ध्यानमा राख्दै कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हड्ताल, र्याली वा भेला नगर्न/नगराउन तथा सामाजिक सञ्जालमार्फत उक्साउने गतिविधि नगर्न आग्रह गरिएको छ।

प्रशासनले निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि स्पष्ट गरेको छ।

Facebook Comments Box