अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
काभ्रेपलाञ्चोक, २३ माघ – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिइएको छ। लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको काम नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि पुनः सुरु भई तीव्र बनेको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ।
सम्झौताअनुसार पहिलो चरणमा आगामी चैतसम्म फराकिलो भागमा कालोपत्र सम्पन्न गर्ने र बाँकी काम क्रमशः गर्दै तोकिएको समयमै पूरा गरिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो।
“आउँदो चैतभित्र कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्यसहित हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेका छन्,” योगेशले भन्नुभयो। चिसो मौसमका कारण सडक सतह (सर्फेस)को काम रोकिएको र तापक्रम बढेसँगै सतहको काम गरी चैतभित्र कालोपत्र सक्ने योजना रहेको उहाँले बताउनुभयो।
कालोपत्रपछि स्लोप मेन्टेनेन्स र अन्य साना काम गरिने छ। उक्त सडकखण्ड सात मिटर चौडाइको बनाइने जनाइएको छ। पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिने पनि उहाँले जानकारी दिनुभयो।
यसैबीच, निर्माण कार्यमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि सो राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ। कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो। चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा कार्यालय आशावादी रहेको योगेशले बताउनुभयो।
जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि गत वर्ष फागुन १५ गते उक्त कम्पनीसँगको ठेक्का औपचारिक रूपमा रद्द गरिएको हो।
गौरी–पार्वती निर्माण सेवाले विसं २०७९ जेठ २० मा २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेभित्र काम सक्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो। तर समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि कम्पनीले २५ प्रतिशत कामसमेत सम्पन्न नगरेको कार्यालयले जनाएको छ।
यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्र भएको थियो भने केही स्थानमा नाली तथा ड्रेन–वाल निर्माण गरिएको थियो। जिपलाइनदेखि तल खावासम्म सडक भत्काइए पनि करिब एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको अवस्था थियो।
अरनिको राजमार्ग नेपालको चीनसँगको उत्तरी नाका तातोपानी (सिन्धुपाल्चोक) तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायततर्फ जाने मुख्य सडकसमेत भएकाले समयमै निर्माण नहुँदा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन्।
कार्यालयका अनुसार मालवाहक सवारीसाधनको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडकलाई बलियो बनाउन नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणमा डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना छ। निर्माणमा ढिलाइ हुँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा भएका दुर्घटनामा सयौँ यात्रु घाइते भइसकेका छन्।

